रौतहट १३ फागुन
चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित एक पोखरी संरक्षण र प्रवर्द्धनको अभावमा प्रदूषित तथा अलपत्र अवस्थामा पुगेको छ । प्रारम्भिक बनावट हेर्दा उक्त पोखरीलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको देखिए पनि काम अधुरै छाडिँदा अहिले अव्यवस्थित र फोहर थुप्रिने स्थलमा परिणत भएको छ । स्थानीयका अनुसार पोखरीको वरिपरि आवश्यक घेराबार, सरसफाइ तथा व्यवस्थापन नहुँदा सर्वसाधारणले प्लास्टिकका बोतल, खोया चप्पल तथा अन्य घरेलु फोहर फाल्ने ठाउँका रूपमा प्रयोग गर्न थालेका छन्। जसका कारण पानी दूषित बन्दै गएको छ भने वरपर दुर्गन्ध फैलिन थालेको छ । स्थानीय बासिन्दाले समयमै संरक्षण र नियमित सरसफाइको व्यवस्था नगरे पोखरी पूर्ण रूपमा नष्ट हुने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सम्बन्धित निकायसँग पोखरीको संरक्षण, सौन्दर्यीकरण र दीर्घकालीन व्यवस्थापनको पहल गर्न माग गरेका छन् ।
यदि उचित योजना बनाएर पूर्वाधार सम्पन्न गरिएमा उक्त पोखरी चेतनगर क्षेत्रकै पर्यटकीय तथा पर्यावरणीय महत्वको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ । अहिले भने संरक्षण अभावकै कारण सम्भावित आकर्षण ओझेलमा परेको छ ।

