सहकारीमार्फत आत्मनिर्भर नागरिक निर्माणको सन्देश

रुपेन्द्र पटेल
रौतहट, ९ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो १४ औँ स्थापना दिवसका अवसरमा बाल भेला कार्यक्रम सम्पन्न गरेको छ ।
रौतहट बचत तथा ऋण सहकारी संघ का अध्यक्ष विभु पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै उहाँले बालबालिकालाई सानै उमेरदेखि सहकारीको महत्व बुझ्न र बचत गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सानैदेखि बचत गर्ने संस्कार बसाल्न सके भविष्यमा आत्मनिर्भर, अनुशासित तथा जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उहाँले नियमित बचतमार्फत भविष्य सुरक्षित गर्न बालबालिकालाई प्रेरित गर्नुभयो।
सो अवसरमा रौतहट बचत तथा ऋण सहकारी संघ का महासचिव देवबहादुर सापकोटाले भविष्य सुनिश्चित गर्न बचत गर्ने बानीको विकास अपरिहार्य रहेको धारणा राख्नुभयो।
त्यसैगरी चन्द्रपुर नगरपालिका सहकारी शाखा का प्रमुख शेख नसरे आलमले बालअधिकारसम्बन्धी विषयमा प्रकाश पार्दै बालमैत्री वातावरण निर्माणमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
चन्द्रोदय साकोस का अध्यक्ष बसन्त आचार्यले बालबालिकालाई सत्कर्मतर्फ प्रेरित गर्न अभिभावक तथा समाजको दायित्व रहेको बताउनुभयो। चन्द्रपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष सहदेव केसीले बालबालिकाको रुचि र चाहनाअनुसार अभिभावक अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस्तै यातायात मजदुर बाकोस का अध्यक्ष कुलप्रसाद अधिकारीले स्वस्तिक साकोसले समुदायमा गरेको सकारात्मक कार्यको प्रशंसा गर्नुभयो। विन्दवासिनी साकोस का सचिव राजेन्द्र तिमल्सिनाले सहकारीहरूले शेयर सदस्यप्रति देखाएको उत्तरदायी कार्यशैलीबाट शेयरधनीहरू लाभान्वित भएको बताउनुभयो।
स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राणाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य मुना लामिछाने तथा कर्मा लामाले व्यक्त गर्नुभएको थियो । कार्यक्रम हातेमालो सामुदायिक वन उपभोक्ता समिति को सभा हल, चन्द्रपुर–६ मा आयोजना गरिएको थियो।
कार्यक्रममा सहकारीका पदाधिकारी, अभिभावक, शिक्षक तथा बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles