बर्दिबासमा म्युजिक भिडियो विमोचन, दर्शक–श्रोताले मन पराउने अपेक्षा

बर्दिबास, २१ माघ । लोक तथा दोहोरी गायन क्षेत्रमा लामो समयदेखि सक्रिय गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरेका हुन् । विमोचनपछि भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शकलाई प्रदर्शन गरिएको थियो ।

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको मधुर स्वर सुन्न सकिन्छ भने शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको छ । गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका हुन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको बताए । उनले गायक परियारलाई व्यवसायिक तथा राष्ट्रिय कलाकारका रूपमा स्थापित गराउन नगरपालिकाले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथि पूर्व राज्य मन्त्री सारदा देवी थापाले परियारले गायन क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संघर्षका बीच पनि निरन्तर सिर्जनामा जुटिरहनु प्रेरणादायी रहेको बताइन् । अपेक्षित प्रचार नपाए पनि हिम्मत नहारेर अघि बढिरहेका कलाकारलाई अब मिडियाले अझ चिनाउनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्षसमेत रहेका गायक परियारले आफ्नो सांगीतिक यात्राका संघर्ष, साधना र अनुभवहरू साझा गरे । उनले वर्तमान समयमा स्रष्टाले भोग्नुपरेका चुनौतीबारे चर्चा गर्दै सबैलाई आफ्ना सिर्जनालाई हेर्न, सुन्न र माया गर्न आग्रह गरे ।

विमोचन कार्यक्रममा नरहरी गौतम, कृष्ण गौतम, हिरा गौतम, रूद्रसेन विश्वकर्मा, जमुना पोख्रेल, मञ्जु क्षेत्री, रञ्जना माझी, सरिता ढुङ्गाना लगायत समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण बिनोद ढुङ्गेलले गरेका थिए ।

गायक परियारले यसअघि रेडियो नेपालबाट २०५१ सालमा पहिलोपटक गाएको गीत ‘जाग नेपाली वीर नेपाली’ सहित सिन्धुलीका सुसेलीहरू, गरौं है रमाइलो (देउसी गीत), मिठो सम्झना (तीज गीत), सुनको थैली चाँदीको झुम्कना जस्ता लोकप्रिय गीतहरू श्रोता–दर्शकमाझ ल्याइसकेका छन् । हालै सार्वजनिक भएको ‘फूल खसिगो, माया बसिगो’ लाई पनि दर्शक–श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो । उक्त गीत गायक बेल बहादुर परियारको आफ्नै युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।

गीतको लिङ्क :

ताजा समाचार

Related Articles