गरुडा रौतहट १७ माघ
गरुडा नगरपालिकाले योजनाबद्ध विकास र सुरक्षित यातायातलाई प्राथमिकतामा राख्दै वडा नं.–४ अन्तर्गत समनपुर जाने सडकदेखि दक्षिणतर्फ नेकपा (एमाले) पार्टी कार्यालय जाने सडकमा सडक तथा नाला विस्तार कार्य सुरु गरेको छ । नगरपालिकाले दुवै तर्फबाट १८–१८ फिट जग्गा खाली गराई सडकलाई आवश्यक चौडाइमा विस्तार गरेको हो । विस्तार कार्यका क्रममा जेसीबी मेसिन र नगर प्रहरी परिचालन गरी कम्पाउण्ड वाल, सिँढी तथा अन्य अस्थायी संरचनाहरू हटाइएको छ । सडक विस्तार कार्य वडा नं.–४ का पूर्व वडा अध्यक्ष चुनचुन साह, समाजसेवी राम गिरी मुखिया, रामबाबू साह लगायत स्थानीय समाजसेवीहरूको उपस्थितिमा सहकार्य र समन्वयका साथ सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार उक्त सडक विस्तारले स्थानीय आवागमन सहज हुनुका साथै सुरक्षित यातायात र व्यवस्थित शहर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । नगरको दिगो विकास, सुगम यातायात र आधुनिक शहरी संरचना निर्माण गर्ने अभियान निरन्तर जारी रहने नगरपालिकाले स्पष्ट पारेको छ । साथै विकास निर्माणमा सहयोग गर्ने सम्पूर्ण नगरवासीप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ ।

