नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिले पायो पूर्णता

रौतहट १४ माघ
नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिले औपचारिक रूपमा पूर्णता पाएको छ। गत माघ १० गते सम्पन्न विशेष नगर महाधिवेशनबाट उपेन्द्र गोले तामाङको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन भएको हो । समिति गठनपछि बुधबार चन्द्रपुरस्थित नगर घेदुङको कार्यालयमा पहिलो बैठक सम्पन्न भएको छ । सो बैठकले उपाध्यक्षमा द्धोय ज्ञानु लामा र शेर बहादुर बम्जन , सचिव कर्म लामा , कोषाध्यक्ष रिस्ता घलान र सदस्यहरुमा माइते सिं थोकर , सोनु मोक्तान लगायतका चयन गरेको छ । बैठकले संगठनको आर्थिक नीति निर्माण गर्नुका साथै आगामी कार्यक्रम तथा योजनाहरू तय गरेको छ । साथै चन्द्रपुर नगरभित्र रहेका सबै वडा कमिटिहरूलाई सक्रिय र प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नगर अध्यक्ष उपेन्द्र गोले तामाङले चन्द्रपुर नगरभित्र तामाङ समुदायको पहिचान र सांस्कृतिक संरक्षणका लागि महत्वाकांक्षी योजना प्रस्तुत गर्नुभयो । उहाँले तामाङ संस्कृतिको प्रतीकका रूपमा ऐतिहासिक डम्फु पार्क निर्माण, ल्होछार कप आयोजना तथा प्रत्येक वडाको मुख्या चोकमा भगवान बुद्धको सालिक स्थापना गर्ने प्रस्ताव राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गोलेले तामाङ समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक र पहिचानको आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । घेदुङले आगामी दिनमा समुदायको हक–अधिकार र सांस्कृतिक उत्थानका लागि सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ ।
बैठकमा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम बहादुर घलान , पुर्व केन्द्रिय सदस्य हर्क घिसिङ, मधेश प्रदेशका मुख्या सचिव बाल कुमार लामा , रौतहट अध्यक्ष बिरध्वज वाइबा , उपाध्यक्ष बिनु लामा , सचिव भुवल बहादुर वाइबा , सदस्यहरु सुर्य बहादुर वाइबा , पुर्व नगर अध्यक्ष लाल बहादुर दोङ लगायतका महानुभावहरुको सहभागीता रहेको थियो ।
तत्काल निर्वाचनको समय रहेकाले बैठकले गरेका निर्णयहरु निर्वाचन पश्चात कार्यन्वयन गर्ने प्रक्रियामा जाने अध्यक्ष गोलेले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles