रौतहट १४ माघ
रौतहटको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको सशस्त्र प्रहरीको चेकपोस्ट टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा शङ्कास्पद गतिविधि देखिएपछि उनीहरूलाई रोकी खानतलासी गरेको थियो । सो क्रममा नक्कली जस्तो देखिने भारतीय नोट फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला पर्सौनी निवासी अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र सितामढी सिभवर परिषद–४ निवासी अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्। उनीहरू प्रयोग गर्दै आएको बीआर ३० एएफ ५७३१ नम्बरको मोटरसाइकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट फेला परेको हो। बरामद नोटमा ५०० दरको १ थान र २०० दरका १० थान नोट रहेका छन् । सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टले दिएको जानकारीअनुसार नक्कली नोटसँगै सक्कली भारु १७७ रुपैयाँ, दुई थान एन्ड्रोइड मोबाइल फोन तथा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

