गुजरा नगरपालिकाकी उपप्रमुखमाथि कार्यालयमै आक्रमण, कारणबारे आरोप–प्रत्यारोप

रौतहट १३ माघ
रौतहटको गुजरा नगरपालिकाकी नगर उपप्रमुख रत्ना लामा सोमबार दिउँसो आफ्नै कार्यालय परिसरभित्र कुटपिटको सिकार बन्नु भएको छ। कार्यालयमै रहँदा वडा नं. १ का केही स्थानीय महिलाहरूको समूहले उहाँमाथि हातपात र दुर्व्यवहार गरेको जनाइएको छ । घटनापछि प्रतिक्रिया दिँदै उपप्रमुख लामाले आफूलाई कुनै पूर्वसूचना वा कारणबिना नै सुनियोजित रूपमा आक्रमण गरिएको दाबी गर्नुभएको छ । उहाँले उक्त घटनामा नगर प्रमुख सन्तलाल प्रसाद चौधरीको इशारा रहेको गम्भीर आरोप समेत लगाउनुभएको छ । कुटपिट हुनुअघि वडा नं. १ र ९ को सिमानामा पर्ने लमाहा खोलामा उपप्रमुख लामा सवार प्रदेश २–०३–००१ झ ००२१ नम्बरको सवारी साधन स्थानीयले रोकेर तोडफोड गरेको बताइएको छ । गुजरा नगरपालिकाका कार्यपालिका सदस्य विजय साह बानियाँले उपप्रमुखमाथि गरिएको व्यवहार अत्यन्त निन्दनीय भएको बताउनुभयो । दोषीमाथि तत्काल कारबाही नगरे भविष्यमा नगर प्रमुख वा अन्य जनप्रतिनिधिहरू पनि यस्ता घटनाको सिकार बन्न सक्ने उहाँको चेतावनी छ । बानियाँका अनुसार वडा नं. १ मा बुद्ध बहुउद्देश्यीय सहकारी संस्था र स्वयं बहुउद्देश्यीय सहकारी संस्थामार्फत किसानलाई मलखाद वितरण हुँदै आएको थियो। तर नगर प्रमुख चौधरीका छोरा र भाई भारदारले नयाँ डिलर दर्ता हुनुपर्ने अडान लिएपछि उपप्रमुखसँग पटक–पटक विवाद हुँदै आएको र त्यसैको परिणामस्वरूप कुटपिटको घटना भएको उहाँको भनाइ छ । यता  नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले भने किसानले समयमा मलखाद नपाउँदा आक्रोशित बनेर उपप्रमुखप्रति दुर्व्यवहार भएको बताउँदै घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभएको छ ।

ताजा समाचार

Related Articles