रौतहटमा सरस्वती मूर्ति विसर्जनका क्रममा परोहामा तनाव, सुरक्षाकर्मीको हस्तक्षेपपछि अवस्था सामान्य

रौतहट १३ माघ
सोमबार सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा रौतहटको परोहा नगरपालिका–९ रामपुरखापमा उत्पन्न तनावले केही समय अशान्त फैलिएको थियो । दुई समुदायबीच सुरु भएको विवाद उग्र बनेपछि सुरक्षाकर्मीले ६८ राउण्ड टियरग्यास प्रहार गरी अवस्था नियन्त्रणमा लिएका थिए । मूर्ति सेलाउन गइरहेको जुलुस र स्थानीय फरक समुदायका केही व्यक्तिबीच भएको सामान्य भनाभनाले एकाएक झडपको रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्काल हस्तक्षेप गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाका क्रममा केही स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी सामान्य घाइते भए पनि सबैको उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामपुरखाप र आसपासका क्षेत्रमा सुरक्षाको व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णु प्रदीप वस्यालले हाल स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका थिए । उहाले सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन सबैलाई चेतावनी समेत दिनु भएको थियो । घटनासम्बन्धी अनुसन्धानका क्रममा केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासनको शान्ति अपिल
घटनाप्रति ध्यानाकर्षण जनाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विशेष अपिल जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिलमा राजनीतिक दल, स्थानीय अगुवा र सरोकारवाला पक्षसँग छलफल गरी समस्या समाधान गरिने उल्लेख गरिएको छ । प्रशासनले धार्मिक विविधताबीच एकता, शान्ति र सहिष्णुता कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा संघ–संस्थाहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। साथै शान्ति स्थापनामा सुरक्षाकर्मीलाई सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ । यसै क्रममा नेपाली काँग्रेसका उम्मेदवार महम्मद फिरदोस आलम, किरण साह लगायत विभिन्न राजनीतिक दलका नेताहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाजमा धार्मिक सद्भाव कायम राख्न, अफवाह र उक्साहटबाट टाढा रहन तथा राष्ट्रिय एकताको पक्षमा उभिन नागरिकलाई आह्वान गरेका छन् ।

ताजा समाचार

Related Articles