रौतहटमा फागुन २१ को निर्वाचनका लागि ५४१ मतदान केन्द्र तोकिए

रौतहट १२ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लाभर ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र समेटेर कुल १५७ वडाभित्र २७७ मतदान स्थल कायम गरेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार निर्धारण गरिएका मतदान केन्द्रमध्ये १५२ वटा अति संवेदनशील, १०० वटा संवेदनशील तथा २७ वटा मतदान स्थल सामान्य वर्गमा राखिएका छन् । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जोखिमको मूल्यांकन अनुसार वर्गीकरण गरिएको उहाले बताउनु भयो । रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्यांक छ । ती मध्ये २ लाख ४० हजार २६७ पुरुष, १ लाख ९६ हजार ३४३ महिला र १ जना अन्य मतदाता रहेका छन । निर्वाचन क्षेत्रगत मतदाता संख्या र भौगोलिक अवस्था अनुसार क्षेत्र नम्बर १, २, ३ र ४ मा फरक–फरक संख्यामा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । साथै, मतदाता नामावली अद्यावधिक गरी अन्तिम सूचीसमेत सार्वजनिक भइसकेको स्पष्ट पारिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारीलाई तीव्र बनाइएको जिल्ला निर्वाचन अधिकारी दासले जानकारी दिनु भयो । उहाले निर्वाचन प्रक्रियामा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन । आचारसंहिता उल्लंघन गर्ने दल वा उम्मेदवारलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिँदै उहाले मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक काम अघि बढिरहेको बताउनु भयो ।

ताजा समाचार

Related Articles