रौतहट ११ माघ
चन्द्रपुर नगरपालिकामा कार्यरत नगर शिक्षक स्वयंसेवकहरूले लामो समयदेखि तलब नपाएको गुनासो गर्दै नगर प्रमुख सञ्जय कुमार काफ्लेलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । नगर शिक्षक स्वयंसेवकहरूका अनुसार उनीहरूले निरन्तर रूपमा विद्यालयमा अध्यापन गराइरहे पनि १२ / १३ महिनासम्मको तलब निकासा नहुँदा गम्भीर आर्थिक समस्या झेल्नुपरेको उनीहरुले बताएका छन। तलब नपाउँदा पारिवारिक दायित्व पूरा गर्न कठिनाइ भइरहेको उनीहरूले बताएका छन । ज्ञापन पत्रमार्फत शिक्षक स्वयंसेवकहरूले तत्काल तलब भुक्तानीको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन् । उनीहरूले माग समयमै सम्बोधन नभए भोलिदेखि विद्यालय नजाने र चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । नगर स्वयंसेवक शिक्षक दिप गोलेका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएकाले बाध्य भएर संघर्षको बाटो रोज्नुपरेको बताउनु भयाे । “हामीले पढाइ रोक्न चाहेका होइनौँ, तर महिनौँसम्म श्रमको मूल्य नपाउँदा आन्दोलन बाहेक अर्को विकल्प रहेन,” उनले भने । शिक्षक स्वयंसेवकहरूको मागप्रति नगरपालिकाको तर्फबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन । आजै नगरपालिकाले तलब निकासाकाे ग्यारेन्टी गर्नु पर्ने उनीहरुले माग गरेका छन ।

