काठमाडौं ११ माघ
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि आज देशभर मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । आयोगले जनाएको अनुसार आवश्यक सबै तयारी पूरा भइसकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहको एक पदमा निर्विरोध निर्वाचन भइसकेको छ भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको हो । कोशी प्रदेशमा खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तोकिएको छ ।
कोशी प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ)
मधेस प्रदेशः महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर–४ (धनुषा)
बागमती प्रदेशः भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–४ (मकवानपुर)
गण्डकी प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की)
लुम्बिनी प्रदेशः कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)
कर्णाली प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत)
सुदूरपश्चिम प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली)
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको छ ।

