चन्द्रपुर नगरपालिकाको ध्वस्त प्रशासनिक भवन पुनर्निर्माण प्रक्रिया अघि बढ्यो

रौतहट १० माघ
रौतहटको चन्द्रपुर नगरपालिकामा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रशासनिक भवन पुनर्निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । गत भदौ २४ गते आन्दोलनका क्रममा आगलागी भई पूर्ण रूपमा ध्वस्त बनेको उक्त भवनको प्राविधिक अध्ययन सुरु गरिएको हो । शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुरबाट आएको प्राविधिक टोलीले चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवनको स्थलगत निरीक्षण गरेको छ । टोलीमा सह–प्राध्यापक डा. क्षितिज चरण श्रेष्ठ, उप–प्राध्यापक ई. अरुण पौडेल, ई. कबिन लामिछाने तथा ई. अरुण सुवेदी सहभागी थिए । प्राविधिक टोलीले आगलागीबाट प्रभावित भवनको कंक्रिट संरचना, माटो तथा खरानीका नमूनाहरू संकलन गरी विभिन्न प्रविधिबाट परीक्षण गरिने जनाएको छ । ती परीक्षणको प्रतिवेदन प्राप्त भएपछि मात्र भवन मर्मत वा पुनर्निर्माणबारे ठोस निर्णय लिइने पुल्चोक इन्जिनियरिङ क्याम्पसका इन्जिनियर अरुण पौडेलले जानकारी दिनु भयो । उहाका अनुसार परीक्षण सम्पन्न भई प्रतिवेदन आउन करिब ८ देखि १० दिन लाग्ने बताउनु भयो । चन्द्रपुर नगरपालिका नगर प्रमुख सञ्जय कुमार काफ्लेका अनुसार आगलागीबाट प्रशासनिक भवन, सवारी साधन तथा विभिन्न कार्यालय सामग्री गरी करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाले प्राविधिक प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

ताजा समाचार

Related Articles