रुपेन्द्र पटेल
रौतहट, १० माघ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल द्वारा रौतहटक वरिष्ठ पत्रकार शिव पुरी सम्मानित हुनुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हल्चोकमा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, कान्तिपुर दैनिकका उपसम्पादक तथा वरिष्ठ पत्रकार पुरीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले तक्मा तथा प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
लामो समयदेखि पत्रकारितामार्फत समाजमा पुर्याउनुभएको योगदानको कदरस्वरूप पत्रकार पुरीलाई शुक्रबार सम्मान गरिएको छ । करिब तीन दशकदेखि रौतहट जिल्लालाई कर्मक्षेत्र बनाएर पत्रकारितामा सक्रिय रहँदै आउनुभएका पुरीले कान्तिपुर दैनिकका लागि निरन्तर समाचार सम्प्रेषण गर्दै आउनुभएको छ ।
स्थानीय मुद्दा, सामाजिक सरोकार, सुशासन, विकास र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा उहाँले लेख्नुभएका समाचार सामग्री राष्ट्रियस्तरमा प्रभावकारी मानिँदै आएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय तहमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएका पुरी व्यावसायिक, निष्पक्ष तथा जिम्मेवार पत्रकारका रूपमा परिचित हुनुहुन्छ ।
यसअघि पनि उहाँ विभिन्न संघ–संस्था तथा निकायबाट पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि सम्मानित भइसकेका हुनुहुन्छ ।

