गौर ८ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ। उजुरीमा श्री नेपाल पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा सरकारी सार्वजनिक जग्गा अवैध रूपमा हस्तान्तरण गरिएको विवादमा संलग्न रहेको आरोप लगाइएको छ। उजुरीकर्ताले उल्लेख गरेअनुसार सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले “सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको” अभियोगमा ०७९–४८–०१०७ नम्बरको मुद्दा दर्ता गरी विशेष अदालत, बबरमहल, काठमाडौं मा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा अदालतमा विचाराधीन रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारी कायम राख्न नमिल्ने दाबी उजुरीमा गरिएको छ। त्यस आधारमा माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गरिएको हो । उक्त उजुरी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश राय यादव ले निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १, रौतहटस्थित गौरमा दर्ता गराएका हुन् ।

