रुपेन्द्र पटेल
रौतहट, ८ माघ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीविरुद्ध कुनै किसिमको उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रौतहट क्षेत्र नं–१ बाट उम्मेदवारी दिनुभएका नेता नेपालको उम्मेदवारी उपर सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादव उम्मेदवारी खारेज हुनुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा उजुरी लिएर पुगे पनि सो उजुरी दर्ता नभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।
यादवले पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेकाले उम्मेदवार बन्न नपाउने दाबी गर्दै उजुरी लिएर बुधबार निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।
तर प्रतिनिधिसभा निर्वाचन निर्देशिका दफा १६ को (घ) अनुसार भ्रष्टाचार मुद्दामा कसुर ठहर भई मुद्दा अन्तिम फैसला भइसकेको अवस्थामा मात्र उम्मेदवार बन्न नपाउने व्यवस्था रहेकाले उक्त उजुरी दरपिट गरिएको निर्वाचन अधिकृत केसीले स्पष्ट पार्नुभयो ।
उहाँले दोषी प्रमाणित नभएसम्म निर्दोष मानिने कानुनको सार्वभौमिक सिद्धान्तलाई आधार मानेर उजुरी दर्ता नगरी फिर्ता पठाइएको जानकारी दिनुभयो । कार्यालयमा कुनै पनि उजुरी दर्ता नभएकाले यस विषयमा छानबिनको कुरा नभएको उहाँले बताउनुभयो ।

