राैतहट ३० पुस
रौतहटको सदरमुकाम गौरमा पहिलोपटक सञ्चालनमा आएको श्री रामलखन हरि साह गुरुकुल विद्यापीठ असामाजिक तत्वको निशानामा परेको छ। अज्ञात समूहले गुरुकुल परिसरमा तोडफोड गर्दै उच्छृङ्खल गतिविधि गरेको पाइएको छ । घटनामा गुरुकुलको सूचना बोर्ड च्यातिएको, प्रवेशद्वारको ढोकामा लात हानिएको तथा भित्तामा आपत्तिजनक शब्द लेखिएको देखिएको छ। यस प्रकारको गतिविधिले गुरुकुलमा आवासीय रूपमा बस्दै आएका गुरु तथा विद्यार्थीहरूबीच गम्भीर असुरक्षा महसुस गराएको छ। शिक्षा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको धार्मिक–शैक्षिक संस्थामाथि भएको यो आक्रमणलाई स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणले अत्यन्तै निन्दनीय बताएका छन्। उनीहरूले यस्ता गतिविधिले समाजमा गलत सन्देश जाने र शैक्षिक वातावरण नै प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् । घटनाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ। साथै, भविष्यमा यस्ता घटना नदोहरिन गुरुकुलको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

