रौतहट २९ पुस
राैतहटमा लागू औषध तथा मादक पदार्थको दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले देवाही गोनाही नगरपालिकामा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । मंगलबार बिहान देवाही गोनाही नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय प्रेमपुर गोनाहीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईले प्रशिक्षण प्रदान गर्दै लागू औषध तथा मादक पदार्थ सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे स्पष्ट पारेका थिए । उहाले विशेषगरी किशोर–किशोरी उमेर समूहलाई लागू औषधबाट टाढा रहन, सही निर्णय गर्न र अनुशासित जीवनशैली अपनाउन प्रेरित गरेका थिए । प्रशिक्षणका क्रममा दुर्व्यसनबाट जोगिन अपनाउनुपर्ने उपाय, कानुनी प्रावधान तथा सामाजिक उत्तरदायित्वबारे समेत जानकारी गराइएको थियो। सहभागी विद्यार्थीहरूले जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए । यस किसिमका कार्यक्रमले विद्यालय तहबाटै लागू औषधविरुद्ध चेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

