रुपेन्द्र पटेल
रौतहट,२२ पुस । कठ्याङ्ग्रिँदो जाडोले रौतहटका दलित तथा विपन्न समुदायको जनजीवन कष्टकर बन्दै गएको बेला नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सचिव तथा वरिष्ठ पत्रकार गोविन्द चौलागाई न्यानो बाँड्ने अभियानमा जुट्नुभएको छ ।
‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानका प्रमुख अभियन्ता समेत रहनुभएका पत्रकार चौलागाईले मधेसका विभिन्न जिल्लामा चिसोले कापिरहेका अति गरिब तथा असहाय परिवारलाई ब्ल्याङ्केट तथा कम्बल वितरण गर्दै आउनुभएको हो । जाडो सुरु भएदेखि हालसम्म उहाँले करिब ३ सय थान कम्बल तथा ब्ल्याङ्केट वितरण गरिसक्नुभएको छ।
पत्रकार चौलागाईले लक्षित परिवारको घर–घरमै पुगेर आफैँ कम्बल तथा ब्ल्याङ्केट हस्तान्तरण गर्नुभएको छ । उहाँका अनुसार सहयोगी भावना भएका साथी रबिन्द्र बोहराको सहयोगमा ५० थान र बाँकी २५० थान कम्बल तथा ब्ल्याङ्केट उहाँले आफ्नै व्यक्तिगत खर्चमा खरिद गरी वितरण गर्नुभएको हो ।
यस अवसरमा पत्रकार चौलागाईले भन्नुभयो, “सहयोग जाडोमा मात्र होइन, बाढीको समयमा बाढीपीडित र कोरोना महामारीका बेला स्थानीय तह नपुगेका ठाउँमा पनि हामी आफैँ पुगेर तत्काल राहत उपलब्ध गराउँदै आएका छौँ।”
रौतहटबासी समेत रहनुभएका चौलागाई सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँले विद्यालयहरूमा पुस्तकालयका लागि पुस्तक वितरण, खेलकुद सामग्री सहयोगलगायतका कामसमेत गर्दै आउनुभएको छ। पञ्च प्रावि चेतनगर, धनगढी तथा सिन्दुरेघारी माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा भौतिक सहयोग प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।
पत्रकार चौलागाईको यस मानवीय पहलले चिसोले थलिएका गरिब तथा असहाय परिवारलाई न्यानो मात्र होइन, आशा र आत्मबल समेत प्रदान गरेको स्थानीयवासीले बताएका छन्। सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै आउनुभएका उहाँको अभियान प्रेरणादायी बनेको छ ।

