रौतहट २१ पुस
चन्द्रपुर नगरपालिकाभित्र रहेको डाबारी पार्कमा फोहोर थुप्रिन थालेपछि पार्कको सौन्दर्य मात्र होइन, समग्र सरसफाइ अवस्थासमेत बिग्रिएको छ। स्थानीय बासिन्दा तथा आगन्तुकहरूका अनुसार नियमित सरसफाइ र फोहोर व्यवस्थापन नहुँदा पार्क प्रयोग गर्न असहज स्थिति सिर्जना भएको हो । पारिवारिक भेटघाट, बालबालिकाको मनोरञ्जन र बिहान–साँझको घुमफिरका लागि प्रयोग हुँदै आएको उक्त पार्कमा प्लास्टिकजन्य फोहोर, कागज तथा अन्य अव्यवस्थित फोहोर देखिन थालेको छ। यसले वातावरणीय प्रदूषण बढाउनुका साथै पार्कको आकर्षणसमेत घटाउँदै लगेको स्थानीयहरूको गुनासो छ । स्थानीयवासीहरूले नगरपालिकाले पार्कको नियमित सरसफाइ, फोहोर संकलनका लागि डस्टबिनको व्यवस्था तथा दीर्घकालीन व्यवस्थापन योजना बनाउनुपर्ने माग गरेका छन्। “डाबारी पार्क चन्द्रपुरको पहिचानजस्तै हो, यसको संरक्षण र सरसफाइमा ढिलाइ हुनु हुँदैन,” एक स्थानीयले बताए । यस विषयमा सम्बन्धित निकायले समयमै ध्यान नदिए पार्कको उपयोगिता र वातावरणीय अवस्था झनै कमजोर हुने भन्दै स्थानीयहरूले चन्द्रपुर नगरपालिकासँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।

