रौतहट १९ पुस
नेपाल विद्युत प्राधिकरणको गौर वितरण केन्द्रले बक्यौता महसुल असुली अभियानलाई तीव्र बनाउँदै पछिल्लो एक महिनामै एक करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ । लामो समयदेखि थन्किँदै आएको बक्यौता उठाउने उद्देश्यसहित केन्द्र प्रमुख धिरेन्द्र यादवको नेतृत्वमा कडाइका साथ अभियान सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत बक्यौता रहेका उपभोक्तालाई लिखित सूचना प्रदान गर्ने, नियमित अनुगमन गर्ने तथा तोकिएको समयभित्र रकम नबुझाए विद्युत लाइन काटिने चेतावनी दिइएको केन्द्रले जनाएको छ । केही ठूला बक्यौतादार संस्था तथा उपभोक्तासँग किस्ताबन्दीमा रकम बुझाउने सहमति समेत गरिएको छ । यसले असुली प्रक्रियालाई थप प्रभावकारी बनाएको कर्मचारीहरूको भनाइ छ । केन्द्रका अनुसार बक्यौता संकलनमा वृद्धि भएसँगै ट्रान्सफर्मर मर्मत, विद्युत लाइन विस्तार तथा अनियमित आपूर्ति सुधारका कार्यलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ । अभियानप्रति स्थानीय उपभोक्ताहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । केन्द्र प्रमुख धिरेन्द्र यादवले समयमै महसुल नतिर्ने उपभोक्तामाथि नियमअनुसार कडा कदम चालिने स्पष्ट पार्दै भने, “यो अभियान निरन्तर जारी रहनेछ ।”

