राैतहट १८ पुस
रौतहट जिल्लाको राजपुर नगरपालिकामा बाढी तथा अन्य प्राकृतिक र मानवीय विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक स्वचालित साइरन सेट जडान गरी सञ्चालनमा ल्याइएको छ। आपतकालीन अवस्थामा समयमै सूचना प्रवाह गरी नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो प्रणाली स्थापना गरिएको हो । नयाँ प्रणालीमार्फत बाढी, आगलागी, चट्याङ, पहिरो, जंगली जनावर आक्रमणलगायत विभिन्न खालका विपद्का लागि छुट्टाछुट्टै साइरन संकेत प्रयोग गरिनेछ। यसले विपद् आउनुअघि नै नागरिकलाई सचेत गराई सुरक्षित स्थानतर्फ जान सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार स्वचालित साइरन प्रणाली स्थानीय विपद् व्यवस्थापन योजनाअन्तर्गत जडान गरिएको हो, जसले आपतकालीन अवस्थामा सूचना ढिलाइ हुने समस्यालाई कम गर्नेछ। विशेषगरी बाढीको उच्च जोखिम रहने मौसममा यो प्रणाली प्रभावकारी हुने विश्वास लिइएको छ । स्थानीयवासीले यो प्रविधिलाई समयसापेक्ष र जीवनरक्षक कदमका रूपमा स्वागत गरेका छन्। नगरपालिकाले आगामी दिनमा नागरिकलाई साइरन संकेतको अर्थबारे अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।

