रौतहट १६ पुस
ग्यास बोकेको बुलेट ट्यांकर दुर्घटनाका कारण अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग करिब २४ घण्टापछि सञ्चालनमा आएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लमाहा बन क्षेत्र नजिक मंगलबार पल्टिएको ग्यास बुलेटलाई सुरक्षित रूपमा हटाएपछि बुधबारदेखि सवारी आवागमन सुचारु गरिएको हो । भारतको रक्सौलबाट नोबेल ग्यास कम्पनीको एलपीजी बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको बुलेट ट्यांकर दुर्घटनामा परेपछि राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो । ट्यांकर पल्टिएलगत्तै ग्यास लिक हुन थालेपछि सम्भावित ठूलो दुर्घटनाको जोखिम बढेको भन्दै सुरक्षाका कारण सडक दुवैतर्फबाट बन्द गरिएको थियो । प्राविधिक टोलीले आवश्यक सुरक्षात्मक मापदण्ड अपनाउँदै ट्यांकरभित्र रहेको ग्यास पूर्ण रूपमा खाली गरेपछि मात्रै क्रेन प्रयोग गरी ट्यांकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार ट्यांकर हटाइएपछि पनि अतिरिक्त सतर्कता अपनाउँदै करिब दुई घण्टासम्म वारुणयन्त्र प्रयोग गरी सडक क्षेत्रमा सफाइ गरिएको थियो । सडक पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित भएपछि मात्रै सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण लामो समयसम्म यात्रु तथा मालवाहक सवारी साधनहरू बाटोमै अलपत्र परेका थिए। ।सुरक्षा निकायको समयमै गरिएको समन्वय र सावधानीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको स्थानीयवासीहरूले बताएका छन् ।

