चन्द्रनिगाहपुरमा नोबेल ग्यासको बुलेट अझै उठ्न सकेन, राजमार्ग आज रातभर बन्द रहने सम्भावना

रौतहट १५ पुस
चन्द्रनिगाहपुर — आज बिहान करिब ७ बजे दुर्घटनामा परेको नोबेल ग्यास कम्पनीको एलपी ग्यास बोकेको बुलेट ट्यांकर अझै पनि घटनास्थलबाट हटाउन सकिएको छैन। बुलेटभित्र रहेको ग्यास पूर्ण रूपमा खाली नगरी सुरक्षित रूपमा उठाउन नमिल्ने प्राविधिकहरूले बताएका छन् । दुर्घटनाका क्रममा बुलेटमा परेको प्वालबाट ग्यास निस्किँदै रहेकाले हाल ग्यास पूर्ण रूपमा खाली हुन अझै ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ। प्राविधिकहरूका अनुसार ग्यास छिटो खाली गर्न बुलेटको पछाडिपट्टि रहेको भल्ब खोलेर ग्यास निकाल्ने विकल्प भए पनि हाल सो उपाय अपनाउन सकिएको छैन।
दुर्घटनाग्रस्त स्थल नजिकै ३३ केभी तथा हाइटेन्सन विद्युत लाइन रहेकाले विद्युत आपूर्ति नकाटी ग्यास निकाल्दा विद्युत सर्ट भई आगलागी हुन सक्ने उच्च जोखिम रहेको प्राविधिकहरूले जनाएका छन्। तर नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन नकाटेकाले ग्यास खाली गर्ने प्रक्रिया अवरुद्ध भएको बताइएको छ । उच्च जोखिमका कारण सुरक्षालाई प्राथमिकतामा राख्दै काम भइरहेको र यसै कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन आज रातभरि समय लाग्न सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीहरूले जोखिमयुक्त क्षेत्रमा नजान तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

ताजा समाचार

Related Articles