रौतहट १५ पुस
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडक खण्डमा LPG ग्यास बोकेको एक ट्यांकर दुर्घटनामा परेको छ। दुर्घटनापछि ट्यांकरबाट ग्यास निरन्तर लिक भइरहेकाले ठूलो आगलागीको जोखिम बढेको छ। मंगलबार बिहान करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको उक्त गाडी बीच सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्यांकरमा चालक मात्रै सवार रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। ग्यास लिक भइरहेकाले स्थिति झनै संवेदनशील बनेको भन्दै प्रहरीले सर्वसाधारणलाई सो सडक र आसपासको जंगल क्षेत्रमा नजान आग्रह गरेको छ। सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तत्काल चन्द्रनिगाहपुर–बालचनपुर हुँदै जाने वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। यता, ग्यास लिकेज रोक्ने र ट्यांकर हटाउने कार्य कसरी र कहिलेसम्म सम्भव हुन्छ भन्ने विषयमा अन्योलता रहेको जनाइएको छ। प्रहरी, दमकल र सम्बन्धित निकाय घटनास्थलमा पुगेर जोखिम न्यूनीकरणका प्रयास गरिरहेका छन्। कुनै पनि बेला ठूलो आगलागी हुन सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

