रौतहट १४ पुस
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धन्सार पुलदेखि बागमती पुलसम्म तथा चन्द्रनिगाहपुर चोकदेखि बालचनपुरसम्मका सडक खण्डमा रातिको समयमा हुने सवारी दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सञ्चालन गरेको छ।
जाडो याममा बढ्ने हुस्सु र कुहिरोका कारण सवारी साधन देख्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विभिन्न जोखिमयुक्त स्थानहरूमा रिफ्लेक्ट स्टिकर टाँस्ने कार्य गरेको हो। यी स्टिकरले अँध्यारो र कुहिरोमा सडक संरचना, डिभाइडर तथा सम्भावित जोखिम क्षेत्रहरूलाई टाढैबाट देखिने बनाउने विश्वास लिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार रातिको समयमा दृश्यता कम हुँदा दुर्घटनाको सम्भावना उच्च हुने भएकाले सुरक्षात्मक उपायका रूपमा रिफ्लेक्ट स्टिकर जडान गरिएको हो। उहाँले सवारी चालकहरूलाई गति नियन्त्रणमा राख्न, हेडलाइटको सही प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गर्नुभयो । यस अभियानले विशेषगरी लामो दूरीका सवारी साधन तथा स्थानीय यात्रुहरूलाई सुरक्षित यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

