सिसिएल : चन्द्रपुर मेयर कपको उपाधि वृन्दावनलाई, नगरप्रमुख कुर्मीको बधाई

रुपेन्द्र पटेल
रौतहट, १४ पुस । सिसिएल चन्द्रपुर मेयर कप लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि वृन्दावनले हात पारेको छ । वृन्दावन नगरपालिका–६ को टिम चमनपुर सुपर किंग्स ले आइतबार फाइनल खेल जित्दै पहिलो पटक मेयर कपको उपाधि चुमेको हो ।
चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सम्पन्न फाइनल खेलमा चमनपुरले गुजराको देवीपुर रोयल्स लाई ६ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको देवीपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो । देवीपुरका साहिल पटेलले सर्वाधिक ३९ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै प्रभाव जमाउन सकेनन् ।
चमनपुरका बलर निर्मल गुरुङ र राजेश यादवले २–२ विकेट लिँदै देवीपुरको इनिङ्सलाई नियन्त्रणमा राखे । लक्ष्य पछ्याएको चमनपुरले एमडी समीरको उत्कृष्ट ब्याटिङमा १४.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । समीरले ३ चौका र १ छक्का सहित अविजित रहँदै टिमलाई ऐतिहासिक जित दिलाए । उनलाई विशाल पटेलले अविजित २० रन बनाउँदै साथ दिए ।
यस जितसँगै वृन्दावन नगरपालिकाले चन्द्रपुर मेयर कपको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । प्रतियोगिताको इतिहासमा चमनपुर सुपर किंग्स पहिलो पटक विजेता बनेको हो । यसअघि पहिलो संस्करणमा भारतको मुजफ्फरपुर क्रिकेट टिम विजेता बनेको थियो ।
उपाधिसँगै चमनपुरले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता देवीपुर रोयल्सले २ लाख रुपैयाँमा चित्त बुझायो । खेलमा ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिएका चमनपुरका निर्मल गुरुङ प्लेयर अफ द म्याच घोषित भए । देवीपुरका अर्जुन घर्ती उत्कृष्ट ब्याटर, चमनपुरका विशाल पटेल उत्कृष्ट बलर तथा प्लेयर अफ द टुर्नामेन्ट सुमित श्रेष्ठ बने ।
विजेता तथा उपविजेता टिमलाई चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्ले ले ट्रफी, नगद र प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरे ।
चमनपुर सुपर किङले उपाधि जितेपछि वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मी बधाई दिनुभएको छ । 
उहाँले वृन्दावनका खेलाडीहरूको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।

ताजा समाचार

Related Articles