सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आजदेखि

चितवन ११ पुस
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आज शुक्रबारदेखि १९औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गर्ने कार्यक्रम रहेको छ । सौराहा सहित समग्र चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । रत्ननगर नगरपालिका संरक्षक तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव संयोजक तथा क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष गुणराज थपलियाले जानकारी दिए । महोत्सव अवधिभर हात्तीको पेनाल्टी सुटआउट, हात्ती श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दैनिक जीवनशैलीबारे जानकारीमूलक कार्यक्रम तथा हात्ती पूजा जस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन गरिने संघका महासचिव महेश खनालले बताए। महोत्सवमा सरकारी तथा निजी क्षेत्रका गरी ८० वटा हात्ती सहभागी हुने छन् । यसैगरी पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, करिब ७० हात्ती सहभागी भव्य शोभायात्रा, विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री खेलकुद तथा सफारी पर्यटन प्रवद्र्धनका लागि पाहुनालाई हात्ती, जीप र डुङ्गा सफारी गराउने कार्यक्रमसमेत समावेश गरिएको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष सौराहामा २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि गराउँदै आएको छ । हाल सौराहामा करिब १५० होटल र ९० भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन् । चितवन वार्षिक रूपमा करिब तीन लाख पर्यटक आगमन हुने जिल्लामध्ये एक हो । तीमध्ये करिब ९० प्रतिशत पर्यटक सौराहा पुगेर जंगल सफारी तथा अन्य पर्यटन गतिविधिमा सहभागी हुने गरेका छन् । सफारी पर्यटनका हिसाबले सौराहा विशेषगरी विदेशी पर्यटकको प्रमुख गन्तव्यस्थलका रूपमा चिनिँदै आएको छ ।

ताजा समाचार

Related Articles