सिन्डिकेट विरुद्ध रौतहटका किसान आन्दोलित

रौतहट, ११ पुस । मधेश प्रदेशमा सञ्चालित चिनी उद्योगीहरूले उखु खरिद–बिक्रीमा कथित सिन्डिकेट लागू गरेको आरोप लगाउँदै रौतहटका उखु किसानहरूले आन्दोलनको घोषणा गरेका छन् । किसानहरूका अनुसार रौतहट, बारा, पर्सा र सर्लाही जिल्लामा सञ्चालित चिनी उद्योगहरूले आपसी सहमतिमा आफ्नै जिल्लाभित्र मात्र उखु खरिद गर्ने निर्णय कार्यान्वयन गरेका छन्, जसका कारण एक जिल्लामा उत्पादन भएको उखु अर्को जिल्लाको उद्योगले खरिद नगर्ने अवस्था सिर्जना भएको छ ।
स्थानीय किसान जोखन महतोले आफूले चाहेको उद्योगमा उखु बिक्री गर्न नपाउँदा किसानको व्यापारिक स्वतन्त्रता कुण्ठित भएको बताए। विशेष गरी रौतहटका किसानहरू जिल्लामा सञ्चालित एक मात्र उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजलाई मात्र उखु बिक्री गर्न बाध्य भएको गुनासो गरेका छन् ।
यसै विषयमा फतुवा विजयपुर नगरपालिका–९, विजयपुर बजारमा सयौँ किसान भेला भई सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। भेलामा सहभागी किसानहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादवले किसानले उत्पादन गरेको उखु जुनसुकै उद्योगमा बिक्री गर्न पाउने अधिकार रहेको बताए ।
फतुवा विजयपुर नगरपालिकाका किसान तथा एमाले नेता शिवपुजन यादवले विगतमा सिन्डिकेट नहुँदा किसानले भुक्तानी छिटो दिने उद्योग रोज्ने गरेको जानकारी दिए। भेलाले तत्कालका लागि बाबा बैजुनाथ चिनी मिललाई उखु बिक्री नगर्ने र समाधान नआएसम्म आन्दोलन अघि बढाउने निर्णय गरेको किसान विजय अधिकारीले बताए ।

ताजा समाचार

Related Articles