राैतहट ८ पुस
रौतहट जिल्लाका सामुदायिक वनहरूमा लागू गरिएको दिगो वन व्यवस्थापन कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ। यही क्रममा मंगलबार चन्द्रपुर नगरपालिका–४ र ६ मा अवस्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहले वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा चन्द्रपुर सब–डिभिजन वन कार्यालयका प्रमुख अनिल महतोले दिगो वन व्यवस्थापनका कारण हातेमालो सामुदायिक वन देशकै नमूना सामुदायिक वनको रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँका अनुसार सो सामुदायिक वनको कुल २८२ हेक्टर क्षेत्रफलमध्ये २७४ हेक्टर क्षेत्र उत्पादनशील वनको रूपमा विकास गरिएको छ। आठ वटा आवधिक खण्डमा विभाजन गरी ८० वर्षको बाली चक्र कायम गर्दै संरक्षण तथा व्यवस्थापन कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो। प्रत्येक खण्डमा करिब ३४.५ हेक्टर क्षेत्रफल रहेको र त्यसलाई थप १० भागमा विभाजन गरी दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। चालु आर्थिक वर्षमा मात्रै साढे तीन हेक्टर वन क्षेत्रमा रहेका एक हजार ६९७ रुखमध्ये २७२ वटा रुख माउ रुखका रूपमा संरक्षण गरिएको छ भने बाँकी एक हजार ३२५ वटा रुख पुनःउत्पादन तथा कटानका लागि सिफारिस गरिएको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जिल्लामा हाल तीन वटा सामुदायिक वन र एउटा साझेदारी वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भइसकेको जानकारी दिनुभयो। तिलेश्वरनाथ, भोर्लेनी र हातेमालो सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिमा सो कार्यक्रम कार्यान्वयनमा रहेको उहाँको भनाइ छ।
त्यसैगरी सामुदायिक वन उपभोक्ता महासङ्घ रौतहटका अध्यक्ष बेदहरी दाहालले इमानदारीपूर्वक दिगो वन व्यवस्थापन गरे समुदायलाई दीर्घकालीन फाइदा पुग्ने उल्लेख गर्नुभयो। हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले आफूले नेतृत्व गरेको सामुदायिक वन साल उत्पादन र संरक्षणको क्षेत्रमा देशकै नमूना बन्दै गएको बताउनुभयो।

