रुपेन्द्र पटेल
रौतहट, ३० कार्तिक । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति दुई घरमा दुलो बनाई १२ लाख रुपैयाँ बराबरको सम्पत्ती चोरी भएको छ । एकै रात दुई घरलाई लक्षित गर्दै आएको चोर समूहले झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएको स्थानीयले बताएका छन् ।
वृन्दावन नगरपालिका वडा नं–१ का वडाध्यक्ष रामनाथ सहनीका अनुसार, चोरहरूले ब्रह्मदेव चौधरीको घरका भित्तामा दुलो काटेर भित्र प्रवेश गरेको समूहले करिब ८० हजार नगद, करिब ७ लाख रुपैयाँ बराबरका गरगहना, तथा महत्वपूर्ण कागजातहरू समेत चोरी गरेको जानकारी दिए ।
सोही समूहले दुखा राउत कुर्मीको घरमा दुलो बनाई प्रवेश गरेर करिब ४ लाख रुपैयाँ बराबरका गरगहना, ६ हजार नगद, एक थान मोबाइल, साथै कागजातहरू समेत लिएर फरार भएको वडाध्यक्ष सहनीले बताए ।
चोरी भएको बेला दुवै घरका सदस्यहरु गाढा निद्रामा रहेकाले कसैले पनि घटनाको आभास पाउन नसकेको पीडित ब्रह्मदेव चौधरीले बताए । चोरहरूले घरमा राखिएको लताकपडा समेत खेततर्फ लगेरे फालेको जनाएको छ ।
चोरीका घटनाले स्थानीय बलेरीवासी आफूलाई अत्यन्तै असुरक्षित महसुस गरिरहेको बताउँदै तत्काल सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । घटनाबारे इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरिसकिएको र हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

