रौतहट २९ कार्तिक
नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजित एक महत्वपूर्ण जनसभा कार्यक्रम शनिबार देवाही–गोनाही नगरपालिका–स्थित गोनाही बजारमा सम्पन्न भएको छ । जिल्लाका अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम एमालेका शीर्षस्थ नेताहरुको उपस्थिति र मन्तव्यका कारण राजनीतिक रूपमै विशेष चर्चा बटुल्न सफल भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटीका उप–सचिव आर्ती भण्डारी, केन्द्रीय सदस्य रेखा झा तथा रौतहट क्षेत्र नं–१ का इन्चार्जहरुले मधेस प्रदेशमा नियुक्त मुख्यमन्त्री सरोज यादवको विरोध नगर्न र प्रतिगामी शक्तिहरूका षड्यन्त्रबाट सचेत रहन सबैलाई आग्रह गरे । उनीहरूले जन्जी आन्दोलन एमाले लक्षित अभियानका रूपमा चलाइएका गतिविधिहरू भएको भन्दै असंवैधानिक रूपमा बनेको वर्तमान प्रदेश सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग समेत राखे । नेता भण्डारीले जन्जी आन्दोलनको नाममा सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताउँदै एमाले कुनै पनि प्रतिगामी खेलबाट नडराउने र अझ सबल भएर जनतामाझ जाने दृढता व्यक्त गरिन् । निर्वाचनबाट नभएको सरकारलाई एमालेले चुनौती दिन तयार रहेको र जनादेशको सम्मान हुने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ थियो । त्यसैगरी केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय गुप्ताले नेपालजस्तो शान्त देशमा विदेशी शक्तिहरूले सत्ता परिवर्तनको खेल खेलिरहेको आरोप लगाए । तर, विदेशी चलखेलबाट एमाले अध्यक्ष केपी शर्मा ओली समेत नडराउने दाबी गर्दै उनले पार्टी नेतृत्व राष्ट्रहितमा दृढ रहेको स्पष्ट पारे । भदौ २३ र २४ गते भएको जन्जी आन्दोलन दुई दिनको आन्दोलन मात्र नभई दीर्घकालीन योजनाअन्तर्गत गरिएको उनले बताए । जन्जी आन्दोलनका मागहरू पूरा गर्न एमाले निरन्तर प्रतिबद्ध रहेको बताउँदै उनले स्थगित सांसद पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरे । एमाले पुनः निर्वाचनको तयारीमा रहेको र सांसद पुनर्स्थापना गरी जनमतमा जाने वातावरण बनाउन तयार रहेको समेत उनले बताएका थिए ।
कार्यक्रम नेकपा एमाले रौतहट जिल्ला कमिटीका सचिव बाबुराम दाहालले सञ्चालन गरेका थिए ।

