पदमुक्त हुनेमध्ये सर्लाहीका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, सप्तरीका जसपा नेपालका मनिष कुमार सुमन, सर्लाहीकै संजय कुमार यादव, सर्लाहीका सिंहासन सा कलुवार र बाराका सारदा शंकरप्रसाद कलवार रहेका छन्।
सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दसवटा बैठकमा अनुपस्थित रहेकाले उनीहरूको पद रिक्त भएको जनाइएको हो। संविधानको धारा १८२(६) तथा नियमावली २०७५ को नियम १८५ अनुसार पद रिक्तसम्बन्धी सूचना जारी गरिएको हो।
यसअघि सात राजनीतिक दलका प्रदेशसभा सदस्यहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने उद्देश्यले प्रदेशसभा पुगेका बेला सभामुख समर्थकहरूले उनीहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाइएको थियो।
सभामुख मण्डलले भने घटनाबारे आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिएका छन्। उनले माननीयहरू उपसभामुखको कार्यकक्षमा गएर करिब चार घण्टा बसेको र सो समयमा के भयो भन्नेबारे आफू अनभिज्ञ रहेको बताए। साथै, प्रदेशसभा सदस्यहरूलाई बन्धक बनाएको आरोपबारे आएको समाचार गलत भएको पनि सभामुखले स्पष्टीकरण दिएका छन्।

