रुपेन्द्र पटेल
रौतहट, १५ कार्तिक । बुधबारदेखि निरन्तर परिरहेको झरीले रौतहटका किसानको धानबाली पूर्णरूपमा डुबाएको छ । पाकेर काटिएको धान अहिले खेतमै बिग्रने खेतमा पानी जमेकाले धान कुहिने, अंकुर फूट्ने र उत्पादनमा ठुलो ह्रास आउने आशंका गरिएको हो ।
तीनदिनदेखि लगातार परिरहेको वर्षाका कारण धान भित्र्याउने सिजनमै पानी पर्नु किसानका लागि ठूलो विपत्ति बनेको छ ।
गौर नगरपालिका–५ का किसान ब्रह्मदेव गुप्ताले “धान काट्ने बेला लगातार पानी पर्नाले सारा मेहनत बर्बाद हुने डर भएको बताउनुभयो । खेतमा पानीको सतह बढ्दै गएको छ, अब बाली बचाउने अवस्था छैन उहाँले भन्नुभयो ।”
बुधबार रातिदेखि सुरु भएको झरी शनिबारसम्म निरन्तर जारी रहँदा जिल्लाभर जनजीवनसमेत प्रभावित भएको छ । बजारहरु क्षेत्र अहिले सुनसान छन् ।
वर्षाबाट कति क्षेत्रफलमा धानबाली डुबानमा परेको हो भन्ने आधिकारिक तथ्यांक भने अझै सार्वजनिक भएको छैन ।
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलले स्थानीय तहबाट विवरण संकलन भइरहेकाले अहिलेसम्म कुल क्षतिको विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।
“हामीले सबै १८ स्थानीय तहलाई प्रभावित क्षेत्रको विवरण माग गरेका छौँ,” मण्डलले भन्नुभयो, “अहिलेसम्म कुनै पनि स्थानीय तहले विवरण पठाएको छैन ।”

