उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ सम्पन्न

   रुपेन्द्र पटेल
रौतहट, ११ कार्तिक । आस्थाको महान् पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै रौतहटमा श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ । चार दिनसम्म चल्ने सूर्य उपासना पर्व अन्तर्गत आज बिहान जिल्लाका विभिन्न नदी–पोखरी र तलाउमा व्रतालुहरूले फलफुल, ठेकुवा, मिठाइ र जल अर्पण गरी सूर्यदेवको आराधना गर्नुभएका छन् ।
रौतहटको गौर, गरुडा, चन्द्रपुर, वृन्दावन, कटहरिया, इशनाथ, मौलापुर, राजपुर, परोहा लगायत १८ वटै पालिकासहितका गाउँघरका छठघाटहरु आज बिहानदेखि नै व्रतालु र भक्तजनले भरिएका थिए । महिलाहरू परम्परागत वेशभूषामा, पुरुषहरू धर्मिक पोशाकमा नदी किनारमा उदाउँदो सूर्यलाई अघ्र्य दिइरहेका दृश्य निकै मनमोहक देखिन्थो ।
भिन्सरघाट भनिने बिहानको अघ्र्य विधिमा सहभागी हुन व्रतालुहरू बिहान सबेरै नै घाट पुग्नुभएको थियो । धार्मिक विश्वास अनुसार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र छठ पर्व सम्पन्न हुने परम्परा रहँदै आएको छ ।
सूर्यदेव र नदीलाई क्रमशः जीवनदाता र शक्तिको प्रतीकका रूपमा मानिने यस पर्वमा पृथ्वीमा रहेका सबै जीवको कल्याणका लागि प्रार्थना गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको आराधना गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान र सौभाग्य प्राप्त हुने विश्वास रहिआएको छ ।
यस पर्वमा विवाहित महिलाहरूले पति र सन्तानको दीर्घायुका लागि तथा अविवाहित युवतीहरूले सुयोग्य वर प्राप्तिको कामनाका साथ कठोर व्रत बस्ने गर्छन् । व्रतालुहरुले चार दिनसम्म शुद्ध रहनका लागि माछा, मासु, लसुन, प्याज, कोदो, फापर र मुसुरो जस्ता वस्तुहरू परहेज गर्ने चलन छ ।
रौतहटमा सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएपछि आज बिहान उदाउँदो सूर्यलाई पूजा अर्पण गरी छठ विधिवत् सम्पन्न भएको हो । छठीमाताले सूर्यदेवलाई खुसी पारेर यो पर्व मनाउन थालेको धार्मिक विश्वास छ ।
छठ पर्वका अवसरमा रौतहटका प्रमुख छठघाटहरू बागमती, लालबकैया, झाझलगायतका नदी किनार र स्थानीय पोखरीहरूलाई बेहुलीजस्तै सजाइएको थियो । विजुली बत्ती, रंगीन ब्यानर र फूलमालाले सिँगारिएका घाटहरूमा रातभर जाग्राम बसेर भक्तजनले गीत, भजन र नाचगानका माध्यमबाट आस्था प्रदर्शन गरिनुभएको थियो ।
स्थानीय प्रशासनका अनुसार जिल्लाभरका छठघाटमा सुरक्षा व्यवस्थाका लागि प्रहरी, सशस्त्र प्रहरी र स्काउट टोली परिचालन गरिएको थियो । सम्भावित दुर्घटना रोक्न नदी किनारमा डुङ्गा, डोरी र अस्थायी ब्यारिकेडको व्यवस्था गरिएको थियो ।

ताजा समाचार

Related Articles