रौतहट १० कार्तिक
रौतहटमा छठ पर्वको तयारी पुरा भएको छ । आस्थाको महान् पर्व छठ चार दिनसम्म श्रद्धा र भव्यताका साथ मनाइने गरिन्छ । छठ पर्वको पहिलो दिनदेखि नै व्रतालुहरूले नदी–पोखरीमा स्नान गरी व्रतको शुभारम्भ गरेका छन । आज सोमबार तेस्रो दिन साँझ ‘सँझिया घाट’ मनाउने तयारी गरिएको छ । छठपर्वको अर्घ्य अर्पणका लागि घाटहरूको सरसफाइ र सजावटको कामहरु यस वर्ष विशेष रूपमा गरिएको पर्व तयारीमा लागी परिरहेका ब्रतालुहरुले बताएका छन । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा रौतहटका गाउँ–नगरका घाटहरूलाई मर्मत र सौन्दर्यीकरण गरी चिटिक्क सजाएका छन । रौतहटमा रहेका नदी, पोखरी र जलाशयका छठ घाटहरूमा प्रहरी र स्थानीयको संयुक्त सहयोगमा शुक्रबारदेखि नै सरसफाइ र मर्मत कार्य गरिएको सशस्त्र प्रहरीका एसपी राम हरि अधिकारीका तराई पोष्टलाई जानकारी दिनु भयो । यस वर्ष रौतहटमा डुबानको घटना बढी भएकाले त्यसतर्फ पनि प्रहरीले सजगता अपनाइएको जनाइएको छ । कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको डिजास्टर टोली समेत तैनाथ गरिएको एसपि अधिकारीले बताउनु भयो । रौतहटमा रहेका सशस्त्र प्रहरीको १४ वटा युनिटका जनशक्ति नजिकको छठी घाट सफाइमा परिचालन गरिएको एसपी अधिकारीले बताउनु भयो । भोलि हुने छठ पर्वको अवसरमा सुरक्षार्थ थप एक सय जनशक्ति परिचालन गरिने एसपी अधिकारीले जानकारी दिएका छन । छठ पर्वमा व्रतालुसँगै छोरी बुहारीहरू महँगा गहना गुँडिया लगाएर छठी घाटसम्म जाने भएकाले उनीहरूको सुरक्षाको दृष्टिले पनि प्रहरी प्रशासन विशेष सतर्कता अपनाएको छ । व्रतालुहरूलाई रातभर पूजा–जाग्राममा निश्चिन्त रहन सक्ने गरी घाटहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले छठ पर्वका अवसरमा यसपटक अन्य सुरक्षा निकायसँग समन्वय गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरिएको बताएका छन् । एसपी कार्कीका अनुसार जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजार, राजमार्गहरूसँगै रौतहटका सबै १८ वटै पालिकामा गस्ती तथा पेट्रोलिङ बढाइएको प्रहरीले जनाएको छ ।

