रौतहटमा छठ पर्वको रौनक, बजारमा चहलपहल

रौतहट, ८ कार्तिक। सूर्य देवताको आराधना र पारिवारिक सुख–समृद्धिको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्व  आजबाट सुरु भएको छ ।  रौतहटसहित तराई–मधेशका जिल्लाहरूमा भव्य तयारी भइरहेको हो । नदी, पोखरी र जलाशयहरूमा छठघाट निर्माण तथा सजावटको काम अहिले अन्तिम चरणमा पुगेको छ ।
स्थानीय समितिहरूका अनुसार धेरै स्थानमा सरसफाइ र सजावट पूरा भइसकेको छ भने बाँकी स्थानहरूमा भोलि साँझसम्म सम्पूर्ण तयारी सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीका अनुसार यस वर्ष नगर क्षेत्रभित्र ३० वटा छठघाट निर्माण गरिएको छ, जसमा अधिकांश घाट निर्माण कार्य पूरा भइसकेको छ । त्यस्तै, गौर नगरपालिकाका प्रमुख शम्भु साहले सदरमुकाम क्षेत्रका सबै छठघाटहरू पनि अन्तिम तयारीमा पुगेको जानकारी दिए ।
चार दिनसम्म मनाइने यस पर्वको आजदेखि औपचारिक शुभारम्भ भएको छ। पहिलो दिन आज ‘नहाय–खाय’ सम्पन्न भएपछि भोलि ‘खरना’ मनाइनेछ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पर्व सम्पन्न गरिने परम्परा रहिआएको छ ।
श्रद्धा, भक्ति र शुद्धताको प्रतीक मानिने यस पर्वले अहिले रौतहटसहित तराई मधेशको जिल्लाहरुका वातावरण पूर्णरूपमा धार्मिक र उत्सवमय बनेको छ ।
छठ सामग्री खरिद गर्न स्थानीय बजारहरुमा श्रद्धालुहरूको भीड बढेको छ। पूजामा आवश्यक फलफूल, मिष्ठान्न, मैदा, चिनी, दुध र अन्य सामग्री खरिद गर्न सर्वसाधारणको भीडले बजारहरू चहलपहलमय बनेका छन् ।

ताजा समाचार

Related Articles