रुपेन्द्र पटेल
रौतहट, ८ कार्तिक । चार दिन मनाइँने अस्था एवम् विश्वासको लोकपर्व छठको आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ ।
यो दिन व्रतालुहरुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानुहुन्छ । यो विधिलाई तराई मधेशमा ‘नहाय–खाय’ भनिन्छ । ‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चतुर्थी तिथिमा हुन्छ ।
छठ प्रारम्भ भएसँगै तराई मधेशका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएको छ । छठले गर्दा मधेश प्रदेशका जिल्लाहरुमा अहिले जताततै सूर्यदेव र छठी देवीको महिमाका गीत गुञ्जिन थालेको छ ।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यो पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाउने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्कोसहितको उखु आवश्यक पर्छ ।
व्रतालुले पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप ग्रहन गरिने चलन छ । यो विधिलाई तराई मधेशमा ‘खरना’ भनिन्छ ।
त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख छठ घाट बनाइएको जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ ।

