रौतहट ५ कार्तिक
रौतहटमा बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी भएकोछ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत लच्का नजिक काठमाडौबाट चन्द्रनिगाहपुरतर्फ आउदै गरेको बस गुडिरहेको समयमा नै एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बस बुधबार बिहान ७ः२० बजको आसपासमा अचानक ब्याट्रीको तार सर्ट भएर बसमा आगो लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यात्रुहरुले घटनाबारे प्रहरीलाई जानकारी दिए लगतै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा घटनास्थलमा प्रहरी पुगेका थिए । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८ः१५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएपछि करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले आंकलन गरेका छ । सो घटनामा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

