रौतहट ३ कार्तिक
तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष लक्ष्मीपूजाको शुभ साइत बेलुकी ७ः०८ बजेदेखि ८ः१८ बजेसम्म रहने छ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङ लगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलै पिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

