सर्लाहीमा निशुल्क शिविरमा ३६१ जनाको शल्यक्रिया

रौतहट ३१ असोज
सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । बिहीबार सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको बागमति नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर रायमाझीले तराई पोष्टलाई जानकारी दिनु भयो । नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा असोज २५ गतेबाट सुरु भएको सो शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहट चन्द्रपुर लगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए । शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको आयोजकले जनाएको छ । शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्द मोहन झाले बताउनु भयो । शिविर समापन तथा केन्द्र उद्घाटन समारोहमा बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामा, कार्यवाहक उपप्रमुख रुपा बम्जन लगायत स्थानीयको सहभागीता रहेको थियो ।

ताजा समाचार

Related Articles