सर्लाही, २२ असोज । सर्लाहीको गोडैतास्थित प्रहरी चौकीमाथि आक्रमण र प्रहरी कुटपिटको आरोपमा गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्गा पूजाका लागि चन्दा उठाउने विषयलाई लिएर उत्पन्न विवादपछि असोज १७ गते गोडैता–५ मा स्थानीयबीच झडप भएको थियो । सोही विषयमा मिलापत्र (पंचायती) चलिरहेको क्रममा वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण भएको प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार सो क्रममा ढुंगामुढा हुँदा प्रहरी सहायक निरीक्षक (सई) अवधेशप्रसाद यादवका दुई दाँत भाँचिएका छन् भने पाँच जना प्रहरी घाइते भएका छन् ।
घटनापछि वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरी कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी मलंगवामा राखिएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच वडाध्यक्षको गिरफ्तारीको विरोधमा गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ । नगर प्रमुख देवेन्द्रकुमार यादवले भने वडाध्यक्ष दासलाई राजनीतिक पूर्वाग्रहका कारण पक्राउ गरिएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

