रौतहटमा अविरल वर्षाले मौलापुर–कलैया सडक बगाउँदा आवत जावत अवरोध

रौतहट, २० असोज । लगातारको अविरल वर्षाले रौतहटको मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्रे सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।

स्थानीय बासिन्दा रूपेश श्रीवास्तवका अनुसार जयनगर–मौलापुर हुँदै कलैया पुग्ने यो सडक मधेस प्रदेशको अत्यधिक व्यस्त मार्गमध्ये एक हो । सडक बगिएपछि यात्रुहरू बीचमा फसेका छन् भने चालकहरूलाई समेत ठूलो कठिनाइ भएको छ । सडक च्यातिएर बगिरहेको दृश्य स्थानीयहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन् । बानका मधेस प्रदेश संयोजक तथा पत्रकार आर.सी. यादवले जनतालाई सोनारनिया हुँदै सागैया–पिपरिया मार्ग भएर हुलाकी सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक आवतजावत, विद्यार्थीहरूको विद्यालय जाने र व्यापारीक सामान ढुवानीसमेत प्रभावित भएको छ । निरन्तर वर्षाका कारण बाढीले अझ थप क्षति पुर्‍याउने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

यसैबीच, स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले क्षति मूल्यांकनका लागि टोली पठाएको जनाएको छ । सम्बन्धित निकायले तत्काल मर्मत कार्य प्रारम्भ नगरेमा यो मार्ग लामो समयसम्म ठप्प रहने चेतावनी स्थानीयले दिएका छन् ।

ताजा समाचार

Related Articles