रौतहट, १९ असोज । ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१० विनवाटोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय जेनजेड युवाहरूको पहलमा आइतबारदेखि सुरु गरिएको उक्त अभियानलाई निरन्तर रूपमा अघि बढाइने जनाइएको छ। आजको वृक्षारोपण कार्यक्रम संजीव यादवको जन्मदिनका अवसरमा आयोजना गरिएको हो। यादवले आफ्नो जन्मदिन राम मन्दिर परिसरमा बिरुवा रोपेर मनाउँदै अभियानलाई एक्यवद्धता जनाएका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र चौधरी, समाजसेवी युगलकिशोर यादव, जेनजेड युवाका अध्यक्ष सुनिल पासवान, युवा सामाजिक व्यक्तित्व ललन यादव, सामुदायिक वन महासंघका केन्द्रीय सदस्य भोला ठाकुर, समाजसेवी हर्षबहादुर खनाल, श्यामजी साह, शम्भु यादव, पत्रकार रुपेन्द्र पटेल, मन्दिरका पुजारी लगायतका दर्जनौं व्यक्तित्वहरूको उपस्थिति थियो।
अभियानका संयोजक गोविन्द चौलागाईंले संजीव यादवलाई जन्मदिनको शुभकामना दिँदै यस्तो सत्कर्ममा जोडिनु सबै युवाको कर्तव्य भएको बताए। उनले “जन्मदिनलाई रमाइलोमा मात्र सीमित नराखी, समाजका लागि उपयोगी काममा लगाउने हो भने त्यो जीवनको साँचो उत्सव हुनेछ,” भन्दै अभियान देशव्यापी रूपमा विस्तार भइरहेको बताए।
त्यसैगरी, वृन्दावन प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र चौधरीले अभियानको सराहना गर्दै यसले युवा पुस्तामा सकारात्मक सोच र वातावरणीय सचेतना बढाउने विश्वास व्यक्त गरे।
समाजसेवी रामसिंहासन यादवले पनि कार्यक्रममा बोल्दै “बिरुवाले अक्सिजन दिन्छन्, अक्सिजन बिना जीवन सम्भव छैन, त्यसैले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्नैपर्छ,” भन्दै सबैलाई वातावरण संरक्षणमा योगदान दिन आग्रह गरे।
विनवाटोलबाट सुरु भएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानले अब प्रत्येक जन्मदिनलाई सामाजिक, मानवीय र पर्यावरणीय कार्यसँग जोड्दै निरन्तरता दिने आयोजकहरूले बताएका छन्।


