रौतहटको सदरमुकाम गौर डुबानमा, सशस्त्र प्रहरीद्वारा १२८ परिवार उद्धार

   रुपेन्द्र पटेल
रौतहट, १८ असोज । लगातारको अविरल वर्षाले रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ । शनिबार बिहानदेखि निरन्तर परेको वर्षाका कारण गौर बजारका अधिकांश क्षेत्र जलमग्न बनेका छन् । सबैभन्दा बढी डुबान गौर भन्सार क्षेत्र र वरपरका बजार क्षेत्रमा देखिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा रौतहटमा ३ सय ३३ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन देशभरकै सबैभन्दा बढी रहेको छ ।

गौर बजारमा पानी निकास नहुँदा अवस्था थप गम्भीर बनेको हो । सीमाक्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण वर्षाको पानी बाहिर ननिस्कँदा हरेक वर्षजस्तै यसपालि पनि गौर बजार डुबानमा परेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले गौरको अवस्था “नाजुक” भएको जनाउँदै जिल्लाभर उच्च सतर्कता जारी गरिएको बताए । उनका अनुसार बागमती र लालबकैया नदीका बाँधहरू कमजोर भएकाले ठुलो बाढी आएमा जोखिम झन् बढ्नेछ ।

गौर नगरपालिका प्रमुख शम्भू साहका अनुसार नदीको सतह बढेका कारण बजारमा जमेको पानी बाहिर जान पाएको छैन । “पानी निकास नहुँदा बजारका बासिन्दा ठूलो संकटमा छन्,” उनले बताए । गौर नगरपालिका–३ का स्थानीय विवेक पाण्डेका अनुसार बजारका गल्ली र सडकहरू नदीजस्तै बगिरहेका छन् र स्थानीय घरभित्रै थुनिएका छन् ।

यसैबीच, बागमती नदीको सतह बढेपछि वृन्दावन नगरपालिका–१ बलेरीस्थित भोटियाघाटका १२८ घरधुरीलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र बेश क्याम सन्तपुरका डीएसपी राजेन्द्र बस्नेतको कमाण्डमा गएको टोलीले बागमतीको बगरमा घर बनाएर बस्दै आएका तथा उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई उद्धार गरेको हो । सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीका अनुसार अटेर गर्ने केही स्थानीयलाई समेत सम्झाएर सुरक्षित ठाउँमा पठाइएको छ ।
बागमती र लालबकैया नदीमा पानीको सतह लगातार बढ्दै गएपछि सशस्त्र प्रहरी, स्थानीय प्रशासन र रेडक्रसले जोखिमयुक्त बस्तीहरुमा माइकिङ गर्दै सतर्क रहन आग्रह गरेका छन् । जिल्लाको गौर, वृन्दावन, मौलापुर, कटहरिया, गरुडा, राजदेवी र दुर्गा भगवती क्षेत्रका हजारौँ स्थानीय उच्च जोखिममा रहेका छन् ।

ताजा समाचार

Related Articles