रौतहट, १५ असोज । महानवमीको अवसरमा आज रौतहटका विभिन्न शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो भिडभाड देखिएको छ । विशेषगरी चन्द्रपुर नगरपालिकास्थित ऐतिहासिक घोडिदेवी मन्दिरमा बिहानैदेखि नै पूजाअर्चना तथा बलिदान दिने भक्तजनहरूको चाप बढेको हो ।
दशैँको नवमीका दिन देवीलाई मनोकामना पूरा होस् भन्ने विश्वाससहित पशुबली दिने परम्परा रहँदै आएको छ । यही कारण बिहान सबेरैदेखि भक्तजनहरू मन्दिरमा लाइनमा उभिएर पालैपालो पूजाअर्चना र बलिदान दिइरहेका छन् ।
मन्दिरमा भीड व्यवस्थापनका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने भक्तजनलाई सहज ढंगले पूजा–अर्चना गर्न मन्दिर व्यवस्थापन समितिले पालैपालो पूजा गर्ने व्यवस्था मिलाएको समितिका अध्यक्ष बलिराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, हरेक वर्षजस्तै यस वर्ष पनि घोडिदेवी मन्दिरमा भक्तजनहरूको ठूलो उपस्थिति छ ।
महानवमीका दिन घोडिदेवी मन्दिर मात्र नभई रौतहटका अन्य शक्तिपीठहरूमा पनि भक्तजनको भीडभाड देखिएको छ । श्रद्धालुहरू देवीको दर्शन गरी परिवारको सुख–शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्ने गर्छन् ।

