रौतहट, २९ भदौ । बृन्दावन नगरपालिकाको वडा नम्बर ३ बिश्रामपुरस्थित हनुमान चौकमा आइतबार दुई समूहबीच विवाद भई झगडा भएको छ । झगडाका क्रममा एक समूहले छुरा प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा गजिन्द्र राय यादवका २५ वर्षीय छोरा दिपेन्द्र राय यादव रहेका छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका यादवलाई स्थानीयको सहयोगमा उपचारका लागि चन्द्रपुरस्थित सिभिल अस्पताल पुर्याइएको र उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीको प्रारम्भिक भनाइ छ ।

