जेन–जि आन्दोलन : रौतहटको चन्द्रपुरदेखि गौरसम्म तोडफोड र आगजनी

  रुपेन्द्र पटेल
रौतहट, २४ भदौं । भ्रष्टाचारविरुद्ध सुरु गरिएको जेन–जि आन्दोलन आज रौतहटमा उग्ररूप लिँदा जिल्लाभर तनावपूर्ण स्थिति सिर्जना भएको छ । आन्दोलनकारी समूहले चन्द्रपुर, चन्द्रनिगाहपुर, गरुडा, मौलापुर हुँदै सदरमुकाम गौरसम्म व्यापक तोडफोड र आगजनी गरेका छन् ।
आन्दोलनकारीहरूले सर्वप्रथम रौतहटको चन्द्रपुर नगरपालिकामा तोडफोड गरी कम्पाउन्डभित्र रहेका सवारी साधनमा आगो लगाएका थिए । यस्तै, रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिनाको निजी निवासमा समेत आगजनी गरिएको छ । उनको घरमा राखिएको निजी तथा सरकारी सवारी साधन जलाइएको छ ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चन्द्रनिगाहपुरस्थित निजी निवासमासमेत आन्दोलनकारीले आगो लगाएका छन् । सोही क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीको घरमासमेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । घरभित्रका भौतिक संरचना भत्काउनुका साथै कागजात समेत जलाइएको छ ।
आन्दोलन उग्रिएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पनि प्रदर्शनकारीको कब्जामा परेको छ । आन्दोलनकारीहरूले प्रहरी प्रयोग गर्दै आएको भ्यानहरु, नियन्त्रणमा राखिएका सवारी साधन र कागजातहरूमा आगो लगाएका छन् । भवनमा समेत आगजनी भएपछि प्रहरी बलले ज्यान जोगाउन अन्यत्र सिफ्ट भएको प्रहरी स्रोतले जनाएको छ ।
यस्तै प्रदेशसभा सदस्य युवराज भट्टराईको घरमासमेत आन्दोलनकारीले तोडफोड गरेका छन् । चन्द्रनिगाहपुरमै रहेको डिभिजन वन कार्यालय र सडक डिभिजन कार्यालयमा समेत आगो लगाइएको छ ।
जिल्लाको मध्य भागमा पर्ने गरुडा नगरपालिकामा पनि आन्दोलनकारीले उग्र प्रदर्शन गर्दै नगरपालिकाको संरचना तोडफोड गरेका छन् । त्यहाँका सवारी साधनमा आगो लगाउनुका साथै पालिकाका कागजातहरु जलाइएको छ ।
यस्तै रौतहटको मौलापुर नगरपालिकामा पनि आन्दोलनकारी समूहले प्रदर्शन गर्दै नगरपालिकाको संरचना तोडफोड गरेका छन् । त्यहाँका पनि सवारी साधनमा आगो लगाउनुका साथै पालिकाका कागजातहरु जलाइएको हो ।
यस्तै सदरमुकाम गौर पनि आज दिनभर तनावग्रस्त रह्यो । जिल्ला प्रहरी कार्यालयले अवस्था नियन्त्रणमा लिन ५०० भन्दा बढी हवाई फायर गरे पनि आन्दोलनकारीहरू पछि हटेका छैनन् । उनीहरुले गौर नगरपालिकामा समेत आगजनी गरेका छन् ।
अहिले पनि चन्द्रनिगाहपुर, गरुडा, मौलापुर र गौरलगायतका स्थानमा अवस्था अझै तनावपूर्ण रहेको प्रहरीले जनाएको छ । रौतहटमा भने कतै मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको अवस्था तनावग्रत बनेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले चन्द्रपुर तथा गौर नगर क्षेत्रमा कफ्यु जारी गरेका हुन् ।

 

ताजा समाचार

Related Articles