रौतहट १२ भाद्र
रौतहटको नहरमा पानी नआएपछि किसानहरु आन्दोलनमा उत्रिएका छन । रौतहटको गरुडा नगरपालिका महम्मपुर गौर नहर खण्डमा पानी नआएपछि किसानहरुले आन्दोलन गरेका हुन । बागमति मनुष्मारा , झाझ सिचाई व्यबस्थापन कार्यालय कर्मैया सर्लाहीलाई दवाब दिन बुधबार किसानहरुले चन्द्रनिगाहपुर गौर सडकखण्ड अवरुद्ध समेत गरेका थिए । धान बालीलाई पानीको आवश्यकता परेको समयमा नहरमा पानी नआएपछि नहरमा पानी तत्काल सुचारु गर्न बुधबार किसानहरुले एक घण्टा गौर चन्द्रनिगाहपुर सडक पूर्णरुपले अबरुद्ध गरेको यमुनामाइ गाउँपालिका–२ का वडा अध्यक्ष सिताराम यादवले तराई पोष्टलाई जानकारी दिनु भयो । धानमा तत्काल पानीको आवश्यकता परेको तर यति नै बेला नहरमा पानी सुकेपछि किसानहरुले आन्दोलन गर्न बाध्य भएको वडा अध्यक्ष यादवले बताउनु भयो । किसानहरुको माग सिचाई कार्यालयले नसुनेपछि किसानहरु वाध्य भएर आन्दोलन गर्नु परेको वडा अध्यक्ष यादवको भनाई रहेको छ । किसानहरुले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय रौतहटमा भदौ ६ गते ज्ञापन पत्र समेत बुझाएको यमुनामाइ गाउँपालिका –३ का नागेश्वर राउतले बताउनु भयो । नहरमा पानी छोड्ने बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पहल नगरेपछि बुधबार सडक अवरुद्ध गर्नु परेको राउतको भनाई रहेको छ । पानीको अभावमा खेती गर्न नपाएर मर्नु भन्दा सडकमा आएर मर्नु नै बेश रहेको किसानहरुको गुनासो रहेको वडा अध्यक्ष यादव दुखेसो पोख्नु भयो ।

