
बालकृष्ण अधिकारी
प्रिय नेपाल तिमीलाई माया गर्ने हजारौँ युवामध्ये म पनि एक हुँ। तर, विडम्बना के हो भने, म तिमीलाई माया गरेरै तिमीबाट टाढा भएको छु। गणतन्त्रको नाममा गरिएका वाचा र आश्वासनहरू ध्वस्त भएपछि म पनि लाखौँ युवाझैँ रोजगारी र भविष्यको खोजीमा बिदेसिन बाध्य भएँ। मेरो शरीर यहाँ छ, तर मेरो मन अझै तिमीसँगै छ — तिनकुनेको सडकमा लाठिचार्ज भोगिरहेका राजाबादी दाजुभाइहरूसँग, आफ्ना धर्म–संस्कृतिको रक्षा गर्न नारा लगाइरहेका आमा–दिदीहरूसँग आवाज उठाय बापत राजतन्त्रको समर्थन गरेबापत नजरबन्द ,यातना र दमन खपी रहेका नेपालि बुबा आमा दाजुभाइ दिदीबहिनी सग सगै रहेको भान हुने भाबना यस पत्र मार्फत पोख्दै छु ।
राजतन्त्रप्रतिको आस्था र गणतन्त्रप्रतिको पीडाले सधै छटपटी मै बिताउछु ।
गणतन्त्र स्थापना हुँदा मैले सोचेको थिएँ — अब हाम्रो पुस्ताले अवसर पाउँछ, देश स्थिर हुन्छ, विकासमा गती आउँछ। तर आजको वास्तविकता के छ भने पटक–पटक सरकार बदलिन्छ,भ्रष्टाचार र दलाल प्रणालीमा भविष्य बेचिन्छ,युवाहरू रोजगारीका लागि परदेश धकेलिन्छन्।
यिनै कारणले गर्दा म जस्ता हजारौँ युवाले राजतन्त्रलाई पुनः स्मरण गरेका छौँ। राजतन्त्र केवल राजा र राजपरिवार मात्र होइन, यो हाम्रो सांस्कृतिक पहिचान, हाम्रो राष्ट्रिय गौरव, र हाम्रो स्थायित्वको प्रतीक हो ।
तिनकुने सहित बल्खु घटना : जनताको आवाजमाथि दमन
पछिल्लो आन्दोलनले यसैको प्रमाण दिएको छ। तिनकुनेमा जब राजतन्त्र समर्थकहरूले शान्तिपूर्ण ¥याली निकाल्दै थिए, सरकारको सुरक्षा संयन्त्रले गरको प्रतिक्रिया लोकतान्त्रिक होइन, दमनकारी थियो।आन्दोलनकारीहरूमाथि गोलि चलाइयो , पानीको फोहरा, अश्रुग्यास, र लाठिचार्ज गरियो।केही युवाहरूको मृत्यु भयो, घाइते भए, कतिपय गम्भीर अवस्थामा पुगे।आन्दोलनको आवाज दबाउन बल प्रयोग गरियो, जसले “जनताको शासन“ भनिने गणतन्त्रको असली अनुहार उजागर गरिदियो।
मैले भिडियो र प्रत्यक्षदर्शीको विवरण हेरेँ। ती दृश्यहरूले मेरो आत्मा हल्लाइदियो।
के यही हो लोकतन्त्र? जहाँ आफ्नै देशका नागरिकले शान्तिपूर्ण आवाज उठाउँदा उनीहरूलाई अपराधीझैँ व्यवहार गरिन्छ? के यही हो समानता? जहाँ गणतन्त्रको आलोचना गर्नेलाई देशद्रोही ठहरिन्छ, तर भ्रष्टाचार गर्ने नेताहरू खुलमखुला शासन गर्छन् ?
विदेशबाट आवाज
म तिनकुनेमा उपस्थित थिएनँ, तर मेरो मन त्यहाँ थियो। मैले सामाजिक सञ्जालमार्फत घटनाको विरोध गरें। साथीहरूसँगै मिलेर विदेशमै विरोध प्रदर्शन गर्ने तयारी ग¥यौँ। हामीले भोगेका पीडा एउटै छन् देशमा बस्नेहरूलाई दमन र दमनको भय,परदेशमा बस्नेहरूलाई पलायन र घरबार बिहिनको पीडा ।
तर हामीले हार मानेका छैनौँ। विदेशमै भएर पनि हामी आर्थिक, सामाजिक, र भावनात्मक रूपमा राजाबादी आन्दोलनसँगै छौँ ।
हामी पलायन युवाहरू !देशमै केही गर्न सक्ने थिएँ, तर अवसर थिएन।बेरोजगारी, भ्रष्टाचार, अस्थिरता — गणतन्त्रको उपहार यही हो।त्यसैले लाखौँ युवाले पसिना बेच्न परदेश धानेका छौँ।तर के तिमीहरूलाई लाग्छ हामी चुप बस्छौँ? होइन !परदेशमै भए पनि हामी आवाज उठाउँछौँ। सामाजिक सञ्जालमार्फत तिमीहरूको ढोंगी मुखौटा च्यात्छौँ।रुपैयाँ पठाएर आन्दोलनलाई बल दिन्छौँ।सत्य बोलेर तिमीहरूको रात हराम पार्छौँ ।
यो गणतन्त्र कि लाठीतन्त्र ?
ए साथीहरू,
गणतन्त्र भनेर टुप्पोमा चढेका नेताहरूलाई तिमीहरूले देखेका छौ नि? जनताको नाममा भोट माग्छन्, कुर्सीमा पुगेपछि जनतालाई चिनेझैँ पनि गर्दैनन्। जनताको आँसु, पसिना, रगत उनीहरूका लागि केवल “नाटकको प्रोपर्टी“ हो।
दलालहरूको क्लब आजको सरकार?जनताको होइन, दलालहरूको क्लब हो।मन्त्रीहरू कुर्सीमा पुगेपछि पहिलो काम— आफ्ना मान्छे ठेक्का मिलाउनु।जनताको लागि नीति? विकास? सपना?त्यो सब त भाषणको लागि मात्रै।जनताको पेट भोकले पोल्छ,तर मन्त्रीहरूको पेट घुसले फुल्छ।यी गणतन्त्रवादीहरू !जसले हरेक दिन भन्छन् — “यो जनताको शासन हो, लोकतन्त्र हो।”तर सडकमा नागरिक शान्तिपूर्ण रूपमा नारा लगाउँदा के गर्छन्?लाठी ठोक्छन्, अश्रुग्यास फ्याँक्छन्, गोली चलाउँछन्।जनता रगत बगाउँदा तिमीहरूको कुर्सी हल्लिन्छ, त्यसैले शान्ति भङ्ग हुन्छ।
राज्यको प्रतिशोध
राजतन्त्रप्रति समर्थन देखाएको कारण मेरो परिवारले गाउँमा प्रत्यक्ष दबाब भोगेको छ। “राजाबादी परिवार“ भनेर गाली खाएको छ। प्रहरीको नजरमा परेको छ। मलाई पनि कतिपयले धम्की दिएका छन् — “फर्केपछि सजिलै नेपाल बस्न सक्दैनस्।”
तर सत्यलाई म कसरी दबाउँ? मेरो मन भन्छ — “चुप लागेर बस्नु देशद्रोह हो।”
अन्तिम चेतावनी
ए गणतन्त्रवादी नेताहरू, सुन तिमीहरूले जनता बेवकुफ बनाउने दिन सकियोस्।कुर्सीको खेलमा देश बेच्ने दिन सकियोस्।जनता दबाउने लाठी र अश्रुग्यास सकियोस्।तर एउटा कुरा सम्झः जनता एकपटक उठे भने,तिम्रो नाटकघर भत्किन्छ।तिम्रो ढोंगको साम्राज्य खस्छ।र त्यो दिन —राजतन्त्र फेरि फर्किन्छ,नेपाल फेरि आफ्नै पहिचानमा फर्किन्छ।
यो कुनै कोमल शब्द होइन, यो सडकको आवाज हो। यो परदेशिएको युवाको रिस हो। यो जनताको चेतावनी हो।
मेरो निस्कर्ष र बिस्वास
तिमिलाई स्थायित्व, तिमीलाई पहिचान, तिमीलाई आत्मसम्मान दिने शक्ति आजको गणतन्त्रसँग छैन। दुर्गा प्रसाईँले उठाएको आवाज, राप्रपा नेपालजस्ता दलहरूको अभियान, अनि सडकमा रगत बगाइदिएका युवाहरू — यी सबै प्रमाण हुन् कि राजतन्त्रको माग केवल केही पुरानो पुस्ताको भावनात्मक मुद्दा होइन, यो आजको पुस्ताको आवश्यकता हो।
तिनकुनेले हामीलाई देखायो — सरकारको दमनले आवाज दबाउन सक्छ, तर विश्वासलाई मार्न सक्दैन।
म, एक पलायन युवा, टाढा भए पनि यो प्रण गर्छु । जबसम्म मेरो देशमा राजतन्त्र पुनःस्थापित हुँदैन, जबसम्म नेपालीले आफ्नै पहिचान र गौरव पुनः प्राप्त गर्दैन, तबसम्म मेरो आवाज कहिल्यै चुप लाग्ने छैन ।
(तिमीलाई माया गर्ने, लेखक बालकृष्ण अधिकारी हाल बेलायत)

