सर्लाही,३१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा गएराति अज्ञात व्यक्तिले गोली प्रहार गरी एक जनाको हत्या गरेका छन्।
गोली प्रहारबाट ४० वर्षीय रामपुकार यादवको ज्यान गएको हो। गएराति करिब ८ बजे छिमेकीसँग घर अगाडि बसेर कुरा गर्दै गरेका बेला मोटरसाइकलमा आएका दुई जनाले यादवमाथि गोली चलाएर फरार भएको प्रहरीले जनाएको छ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अहिले शव सोही अस्पतालमा राखिएको छ।
सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ। मुचुल्का सकिएपछि शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी गरिएको उनले बताए।
हरिपूर्वा–६ का वडाध्यक्ष रामसोगारथ राय यादवका अनुसार मृतक रामपुकार गाउँमा खेतीपातीसँगै आवश्यक परेकालाई ऋण दिने गर्थे। केही समय सदरमुकाम मलंगवाको एक निजी विद्यालयमा शिक्षकको रूपमा अध्यापन गरेको जानकारी पनि उनले दिए।
डिएसपी राईका अनुसार गोली प्रहारपछि भाग्दै गरेका व्यक्तिहरु सवार मोटरसाइकल गएराति नै हरिपूर्वा नगरपालिका–७ मा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। उनलाई लालबन्दी हुँदै जनकपुर रेफर गरिएको छ। घाइते बोल्न सक्ने अवस्थामा नरहेको र अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल बरामद गरेको छ भने संलग्न व्यक्तिहरुको पहिचान खुलाइएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।

